Saturday, January 24, 2015

कृषक पाठशाला संचालन गर्न कृषकहरु स्वयं सक्षम

माघ १० , चितवन । नेपाल जनस्वास्थ्य प्रतिष्ठान, कृषि स्वास्थ्य तथा वातावरण परियोजनाको आयोजनामा केरुंगा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडमा आयोजित २२ हप्ते कृषक पाठशालाको अन्तिम तालिम शनिवार जगतपुरमा सम्पन्न भयो । करिव दुई दर्जन महिला तथा पुरुष कृषकहरु सम्मिलित तालिमको संचालन आइपिएम सहजकर्ता कृष्ण मुरारी घिमिरे तथा प्रमुख अतिथि कृषि विज्ञ सुन्दर तिवारी रहेका थिए ।
गत मंसिरदेखि माघसम्म प्रत्येक शनिवार संचालित सो कृषक पाठशालामा सुरक्षित तरिकाले विषादी छर्न, घरयासी मल, जैविक विषादी बनाउन लगायतको महत्वपूर्ण जानकारी प्राप्त गर्न सकिएको तालिममा सहभागी नारायणी नगरपालिका– १२ किसान चोक निवासी ईश्वरीप्रसाद न्यौपानेले बताए ।
कृषक पाठशालाकी उपाध्यक्ष अमृतनगरकी उमा सुवेदीले अन्य तरकारी सम्बन्धी विविध तालिम लिए पनि यो कृषक पाठशाला अत्यन्त उपयुक्त भएको र पहिले आफूहरुले हचुवाको भरमा विषादी छरियो तर अब निगरानी गरेर सुरक्षित तरिकाले छर्ने प्रतिवद्धता गरिन । उनी लगायत छिमेकीहरुले पनि घरमा जैविक विषादी बनाउन र प्रयोग गर्न पनि सुरु गरिसकिएको बताए ।
सो अवसरमा कृषकहरुलाई जाँच लिएर तालिमको मुल्यांकन लिइएको र उत्कृष्ट आएका केही कृषकहरुलाई औपचारिक समापन कार्यक्रम गरेर पुरस्कार वितारण गरिने कृषि विज्ञ सुन्दर तिवारीले जानकारी दिए । अब कृषकहरु स्वयं सक्षम भइसकेकाले कम्तीमा पनि प्रत्येक कृषकले ३० जना कृषकहरुलाई आफूले जानेको कुरा सिकाउने प्रतिवद्धता गर्नुपर्ने सो अवसरमा व्यक्त गरे । जनस्वास्थ्यले चितवनमा आयोजना गरेको कृषक पाठशाला यो तेस्रो रहेको हो, यस अघि भण्डारा र मंगलपुरमा कृषक पाठशाला सम्पन्न भइसकेको छ ।

1 comment:

Ananta Subedi said...

any one interested give some suggestions too.