Saturday, November 8, 2014

आइपिएम कृषक पाठशाला जगतपुरमा सुरु

अनन्तप्रकाश सुवेदी
जगतपुर, चितवन ।

 शनिबार, कार्तिक २२, २०७१ । विषादी र त्यसको प्रभावबारे सचेत भएर जगतपुर र शुक्रनगरका किसानहरु आफ्नै सहकारीमा आइपिएम कृषक पाठशालामा जुटेका छन् । नेपाल जनस्वास्थ्य प्रतिष्ठानको आर्थिक सहयोग, जिल्ला कृषि कार्यलय तथा जिल्ला आइपिएम कृषक संघको प्राविधिक समन्वयन साथै केरुंगा ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी संस्था लि। को आयोजनामा सूरु भएको सो पाठशालाको नाम सकृय कृषक पाठशाला राखिएको समूहका संयोजक अर्जुन कार्कि बताउनुहुन्छ ।
सहकारी संस्थाको आयोजनामा भएको पाठशाला २२ हप्ता चल्ने र यसमा शुक्रनगर र जगतपुरका गरि १४ १४ जना महिला तथा पुरुष तरकारी कृषकहरुको सहभागिता रहेको सहकारीका अध्यक्ष कान्छा मल्ल बताउनुहुन्छ । तालिममा गोल्भेडाको आइपिएम तरिकाले खेति गरेर पाठशाला सञ्चालन गरिने र त्यसमा कुखुराको सुलि, बोकासी मल, गड्यौला मल र स्थानिय रुपमा उत्पादित प्रांगारिक मलको प्रयोग गरिने तथा रोग किराको लागि जैविक विषादीको प्रयोग गरिने प्रतिष्ठानका कृषि विज्ञ सुन्दर तिवारीले बताउनुभयो ।
जगतपुरमा दश वर्ष पहिले आइपिएम तालिम भएको स्मरण गर्नुहुँदै स्थानिय कृषक पनि रहेका आइपिएम सहजकर्ता कृष्णमुरारी घिमिरेले हरेक हप्ता शनिवार बिहान ४ घण्टा पाठशाला सञ्चालन हुने र स्थानिय रुपमा जैविक विषादी तथा बोकारी मल बनाउन पनि सिकाइने वहाँले बताउनुभयो ।
पूर्व चितवनका भण्डारा र चैनपुर तथा मंगलपुरमा यसै किसिमको पाठशालाबाट हालसालै ५२ जना महिला तथा पूरुष लाभान्वित भएको जिल्ला आइपिएम कृषक संघका सचिव बासुदेव सापकोटाले बताउनुभयो । विगतमा किटनाशक विषादी र मल अत्याधिक प्रयोग हुने भनेर चिनिएको यो क्षेत्र प्रतिष्ठानले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न थाले पछि आइपिएम तथा प्रांगारिक खेति तर्फ आकर्षित भएको सापकोटा बताउनुहुन्छ । किसानहरु यस तर्फ आकर्षित हुन थाले पछि जिल्ला कृषि विकास कार्यलयले पनि यसमा चासो दिन सुरु गरेको देखिन्छ ।

No comments: