Thursday, October 10, 2013

स्वस्थ कृषि खेतिका लागी जैविक विषादी र प्रांगारिक कृषि प्रविधि


अनन्तप्रकाश सुवेदी
(वातावरण विज्ञान विभाग, कृषि तथा वन विज्ञान विश्वविद्यालय)

कृषकहरुले आफ्नो खेतबारीबाट अधिकतम उब्जाउ लिन खेतबारीमा चाहिने खाद्यतत्व, मलखाद र पानि व्यवस्थापनको जति जरुरी रहेको छ, शत्रुजीव व्यवस्थापन पनि उत्तिकै टड्कारो रुपमा आवश्यक रहेको पाइन्छ । खेति बालिमा खाद्यतत्व व्यवस्थापन र शत्रुजीव नियन्त्रणका लागी किसानहरुलाई रासायनिक विधि तर्फ डो¥याउन सरकारी तवरबाट नै विगतमा ठुलै लगानि पनि भयो । त्यसको प्रतिफल स्वरुप हामीले उत्पादन वृद्धि भन्दा पनि अस्वस्थकर समाज, माटोको उत्पादकत्वमा ह्रास र क्यान्सर लगायतको रोगको उच्च जोखिममा स्वयं किसान र आम उपभोक्तालाई पु¥यायौं । हामीमा सचेतना वृद्धिसँगै हाल आएर रासायनिक विषादीको सट्टामा जैविक विषादीको पनि उपलब्धता हुनथालेको छ र किसानहरुको स्वस्थ कृषि उत्पादनमा आकर्षण बढ्न थालेको छ । 
खेतबारीमा लाग्ने रोगकिराहरु नियन्त्रण गर्न विभिन्न खाले किटनाशक विषादीको प्रयोग हुँदै आइरहेको छ । जसमा व्याक्टेरियानाशक विषादी, ठुसिनाशक विषादी, किटनाशक विषादी, मुसानाशक विषादी, धमिरा नाशक विषादी, लेऊ नाशक विषादी, आदी । रासायनिक रुपमा ति विषादीहरुमा प्राय अर्गानिक तत्व (जुन बोट बिरुवाबाट निकालिएका तत्वहरु जस्तै अर्गानोक्लोरिन, अर्गानोफोस्फोरष, आदी) र केही अप्रांगारिक तत्व जस्तै आर्सेनिक र मर्करी लगायतको प्रयोग हुनेगर्छ । यिनले किराहरुलाई खाना खानबाट बञ्चित गराएर, सन्तान उत्पादन रोकेर, भगाएर, वाष्पिकरण रोक्ने लगायतका विभिन्न उपायले बालिका किरा नियन्त्रण गर्ने गरिन्छ । यसरी किरा नियन्त्रण गरेर केही हदसम्म उत्पादन त बढाउन सकिन्छ तर विषादीहरु वातावरणमा वर्षाैंसम्म रहिरहने र यसले पार्ने प्रभावले गर्दा किसान (जुन किटनाशक विषादी छर्न अभ्यस्त छन्) र उपभोक्ताहरु साथै व्यापारी जुन यस किटनाशक विषादीयुक्त खाद्यान्न तथा तरकारी फलफूल खपतमा लागेका छन् तिनिहरुमा स्वास प्रश्वास, छालाजन्य रोग तथा क्यान्सर सम्म देखिन पुगेको विभिन्न अनुसन्धानले प्रष्ट गरेको छ । त्यसैले यसबारेमा विश्वको ठुलो हिस्सा सचेत भएर विषादी प्रयोगको विरोधमा उभिसकेको छ र अब नेपालको पालो भएको छ विषादीजन्य पदार्थलाई सधैंको लागी खेतवारीबाट तथा खाद्यान्यबाट अलग राख्ने ।
नेपालमा पनि विभिन्न अगुवा किसान तथा अनुसन्धानकर्ताहरु किटनाशक विषादी बिना विभिन्न  वैकल्पिक विधिबाट किरा नियन्त्रण गर्न सक्षम भएका छन् । त्यसका लागी उनिहरुले निम्न उपायहरु अवलम्बन गर्ने गरेको पाइएको छ । 
१. रोग कीरा अवरोधक जातहरुको प्रयोग
२. बालिचक्र, बिऊ छर्ने वा रोपाइ गर्ने समयको हेरफेर, खेतको सरसफाई, उचित खनजोत, बालि कटानिपछी  अवशेष नष्ट गर्ने
३. परजीवी एवं शिकारी कीराका साथै विभिन्न जीवाणु जस्तै व्याक्टेरीया (वि. टि.), फंगरु, भाइरस र निमाटोडको प्रयोग ।
४. आकर्षक रसायनिक पदार्थ जस्तैः मिथाइल यूजिनल, क्यूलियर र विभिन्न फेरोमेन जस्तै हेलीलुर स्पोरडोरलुर आदीको प्रयोग 
५. विभिन्न हर्माेन जस्तै आप्लोरको प्रयोग
यस्ता विधिहरु पनि आम किसानको खेतवारीमा विभिन्न आइ. पि. एम. प्रविधिको रुपमा प्रयोग गरी रोग किरा नियन्त्रणमा किसानहरु सक्षम भइसकेका छन् । यसकालाई किसानहरुले निम्न उपायहरु अपनाउने गरेका छन् । 
क) नीम, टिमुर, बोझो, तितेपाती, ज्वानु, तोरीको तेल प्रयोग गरी अन्न भण्डारणमा रोग कीरा नियन्त्रण
ख) काठको धूलो, गहुँत, साबुन पानी, सुर्तीको झोल प्रयोग गरी तरकारी बालीको किरा नियन्त्रण, 
ग) सुन्तला जात फलफूलको औंसा कीरा नियन्त्रणको लागि फेरोमेन ट्रयाप, खेतवारीको सरसफाई
घ) इपिल–इपिलको सिल्लालाई किरा नियन्त्रणको लागी लेडि वर्ड विटलको प्रयोग
ङ) धानको गन्हाउने पतेरो नियन्त्रणको लागी बाघे खपटे किराको प्रयोग
च) लहरे तरकारी वालिको फल कुहाउने औंसाको लागि क्युलियर फोरीमेन ट्रयापको प्रयोग
छ) वनमारा झारमा गाँठो बनाउने परजीवि किरा गल लाईको प्रयोग
जैविक विषादीले रसायनिक विषादिले जस्तो किराको आक्रमणलाई १०० % निमिट्यान्न गर्न त सक्दैन तर यो वातावरणमैत्रि भने अवश्य छ । जैविक विषादी प्रयोग गरिसकेपछि तुलनात्मक रुपमा बोटविरुवा माटो, पानि, हावा तथा वातावरणमा छिट्टै विसर्जन हुन्छ । यसको प्रयोगबाट प्रयोगकर्ता, उपभोक्ता एवं अलक्षित वस्तुहरु जस्तै उपयोगी किराहरु, जनावरमा कम असर, पटक पटक प्रयोग गरी रहनु नपर्ने र हानीकारक जीवहरुले प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्न नसक्ने हुनाले कालान्तरमा जैविक विषादीको प्रयोग सस्तो र वातावरणीय दृष्टिकोणले अत्यन्त उपयोगी हुने गर्दछ ।
विगत धेरै वर्ष देखिन् सामुहिक रुपमा छलफल गरी खेतिपाति गर्दै सामुहिक रुपमा कृषि उपज बेचखिन गर्दै आएको समुह हो भण्डाराको जनजागृत हरियालि ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेड । यहाँका किसानहरु पनि किटनाशक विषादीबाट वाक्क दिक्क भैसकेका छन् । यसै  सहकारीका सदस्य तथा शिखर सामुदायिक वनका अध्यक्ष सिताराम  तामाङ्ग विषादीरहीत खेतिलाई जोड दिनु भनेको वातावरण जोगाउनु हो र वातावरण जोगए मात्र वन जंगल जोगिने र अन्ततः मानिसलाई फाइदा पुग्ने हुँदा यस प्रति सबैको ध्यान पुग्नु पर्ने बताउनुहुन्छ । तर स्थानिय किसान विनोद सेठाँइको अनुभवमा हाल भण्डारामा विषादी प्रयोग नगरे धान मात्र त के गाइ भैँसीको लागी पराल पनि उत्पादन नहुने स्थिति रहेको छ । यस्तै तितो अनुभव संगाल्नुभएको छ भिँडी किसान रामेश्वर थपलियाले । जनजागृत सहकारीको उपाध्यक्ष समेत रहनुभएको उहाँले गत साल विषादी रहित भिँडी उत्पादन गरेर बजारमा लैजानुभयो, हेर्दा अरु विषादी राखिएका भिँडी जस्तो सलक्क परेको आकर्षक नभएर बिक्रि नै हुन सकेन र भिँडी त्यसै खेरा गयो वहाँको ।

यि कुराहरुमा पुर्णतः सहमत हुनुहुन्छ नेपाल जनस्वास्थ्य प्रतिष्ठान कृषि, स्वास्थ्य तथा वातावरण परियोजनाका कृषि विज्ञ सुन्दर तिवारी । पूर्वी चितवनको यस्तै विकराल स्थितिलाई मध्येनजर गर्दै संस्थाले तीन वर्षै कार्यक्रम अन्तरगत स्वस्थ कृषि उपज उत्पादनमा गर्न सकिने विविध उपायहरु किसानहरु कै घरआगँनबाट पत्ता लगाएर सो क्षेत्रका किसानहरुलाई सिकाउने लक्ष लिनुभएको छ वहाँहरुले ।  
जिल्ला कृषि विकार कार्यालयका वरिष्ठ वाली संरक्षण अधिकृत शिव रिजाल पनि मानव स्वास्थ्यमा विषादीले असर पारिरहेको स्विकार्दै यसमा कृषि कार्यलयले खेल्नसक्ने भूमिकालाई दृणतापूर्वक निर्वाह गर्दै अघि बढेको बताउनुहुन्छ । यसरी विभिन्न किसान सहकारी, गै.स.स. र सरकारी संघ संस्थाहरु लागीपरेमा अप्रांगारिक खेतिबाट प्रांगारिक कृषि तर्फ चितवन र समग्र नेपाललाई डो¥याउन सकिएमा स्वस्थ भविष्य निर्माणमा हामीले एउटा पाइला चालेको अवश्य ठहरिने छ ।

Published with slight edition in Pardarshi National Daily, Chitwan
2070/06/23 : 2013 Oct. 09

1 comment:

Ananta Subedi said...

my first effort on anti-insecticide and ipm, post some suggestion for further improvements.