From http://agriculturecornerblog.blogspot.dk/2012/06/blog-post_16.html
नेपालमा मोन्सान्टोको दादागिरी
तेस्रो अनुवांशिक परिवर्तित बालिको (GMO's) खेति गर्दा माटोमा र उत्पादनको
प्रयोगबाट मानिसमा हुने विभिन्न नकरात्मक असर अत्याधिक हुने विभिन्न
वैज्ञानिकहरुले तथ्यगतरुपमा अघि सारेका छन् । हाइब्रिड तथा अनुवांशिक
परिवर्तित बालि उत्पादन गर्न अत्याधिक रुपमा प्रयोग हुने किटनाशक औषधि र
अजैविक मलहरुले मानिसको स्वास्थ्यमा क्यान्सर लगायतका दिर्घ हानिकारक रोग
तथा माटोको स्वास्थ्यमा पनि दिर्घकालिन असर पार्ने गर्दछ । यसका साथ साथै
अनुवांशिक परिवर्तित बालिको सेवनले मानिसमा गर्न सक्ने हानिको सिमाको त
कुरा नगरौं, यसले माटोमा पनि अपुरणिय क्षति पुराउने विभिन्न तथ्यहरु फेला
पर्दै गएको वैज्ञानिकहरुले बताउने गर्दछन् । केही वर्ष पहिले युरोपमा
अनुवांशिक परिवर्तित गाईहरुबाट दुध उत्पादन गर्न सुरु गरिएकोमा केही समय
पछि अनुवांशिक परिवर्तित गाईहरु बौलाहुन सुरु गरेका र दुध सेवन गर्ने
मानिसहरुमा पनि बौलाहको लक्षण देखिएको बताइन्छ । हाल युरोपियन युनियनले
आफ्नो सदस्य राष्ट्रहरुमा अनुवांशिक परिवर्तित खेतिलाई पुर्णतारुपमा रोक
लगाएको पाइन्छ भने संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनको
निरन्तर दबाव र विश्व व्यापि मानव अधिकार कर्मिहरुको दबावका कारण
अमेरिकाले उत्पादन गर्ने अनुवांशिक परिवर्तित बालिबाट उत्पादन गरिएको
खाद्यान्नलाई अनुवांशिक परिवर्तित को ट्याग लगाएर मात्र बिक्रि बितरण गर्ने
गरिन्छ । तथापी यस्ता तथ्यांकको अनभिज्ञतामा वा सस्तो वस्तु र राम्रो खोल
देखेर किन्नेहरुको घरमा भने यस्ता सामग्रीले सजिलै प्रवेस पाएका छन् । अब
यस्तो खाना खान तयार मान्छेले मात्र सेवन गर्ने भए अनुवांशिक परिवर्तित
खाना भन्न त सकिला तर यसले माटोमा छाडेको असरलाई कसरी ट्याग लगाएर अलग
राख्न सकिएला भन्ने प्रश्न गम्भिर समस्याको रुपमा अगाडि आएको छ ।
(कृषि स्नातकोत्तर-बाताबरण संरक्षण)
उप-प्राध्यापक- वातावरण विज्ञान बिभाग
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान
त्रिभुबन विश्वविद्यालय
नेपालमा मोन्सान्टोको दादागिरी
बिउ उत्पादनको भिमकाय संस्था मोन्सान्टोको दादागिरी प्रयास नेपालमा
प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देखिएको छ । सो कम्पनिले आम किसानलाई चुस्न र
नेपालको जैविक विविधता तहसनहस पार्दै नेपाललाई कालान्तरमा मोन्सान्टो निर्भरता
बनाउन उच्च पदस्थ कर्मचारीहरुलाई भ्रमण तथा भत्ताको लालसा देखाउँदै
वैधानिक तवरमा नेपालमा दादागिरी मच्चाउन खोजिरहेको छ । यसको समयमा नै
संरक्षण कर्मिहरुले सचेत अवरोध त गरेका छन् तर चोर बाटोबाट यो नेपालको
संक्रमण काल र राजनैतिक नेतृत्वको यस विषयमा नजरअन्दाजका कारणको फाइदा
उठाउँदै सक्रिय भने रहेको आभाष आम कृषिकर्मीहरुलाई रहेको छ ।
मोन्सान्टोको विरोध किन ?
धेरै अरु अन्तराष्ट्रिय क्षेत्रहरुसँगै हाम्रै छिमेकी मुलुक भारतका गरिब किसानहरुलाई आफ्नो जालोमा पारेर पछि आत्महत्या सम्मको
विकल्प रोज्न वाध्य पारेर कुख्याति कमाएका कारण मोन्सान्टो विश्व भरि नै
आलोचित रहि आएको छ । बिउ माथि किसानको अधिकारलाई मोन्सान्टो जस्ता
बहुराष्ट्रिय कम्पनिहरुले विविध पक्षबाट आक्रमण गर्ने गर्दछन् र किसानलाई
परनिर्भर बनाउँदै लगेर चुस्ने प्रवृत्तिलाई यिनिहरुको काम गर्ने विधिको
रुपमा लिन सकिन्छ । अनुवांशिक रुपमा परिवर्तित बालिको प्रयोग मोन्सान्टोले
किसानहरुको खेत वारिमा उत्पादन धेरै हुने, किरा तथा झारको लागि किटनाशक
औषधि धेरै प्रयोग गर्न नपर्ने र अझ गर्नै नपर्ने जस्ता लालचा दिएर
लोभ्याउने गर्दछन् । विश्वभरि यसले गरेको खेतिलाई मुल्यांकन गरेर निकालिएको
रिपोर्टलाई केलाउने भने केहि वर्ष राम्रो उत्पादन दिएता पनि पछि क्रमशः
त्यस क्षेत्रमा यसले आफ्नो साइड व्यापारको रुपमा अगाडि सारेको किटनाशक औषधि
र मलको प्रयोग मात्रा बढाउँदै लानुको विकल्प किसानलाई नरहने देखिन्छ ।
त्यस पश्चात किसानहरुको उत्पादन खर्च चरम उत्कर्श पुग्दै जाने देखिन्छ ।
यसकारण मोन्सान्टोको दलदलमा फस्न भन्दा पहिले हामिले एक चोटि गहिरिएर
सोच्नुपर्ने हुन्छ ।
दोस्रो मन्सान्टोले आफ्नै देश अमेरिकाका किसानलाई पनि एक चोटी फन्दामा
परेपछि कयौ वर्ष दुख दिन नछाड्ने गरेको धेरै उदाहरण रहेका छन् । परिक्षणको
नाम होस् या जग्गा भाडामा लिएर होस या उत्पादन धेरै हुने लालशा देखाएर होस्
यसले कुनै किसानलाई आफ्नो चंगुल पारेर आफ्नो उत्पादन सुरु गरेको हुन्छ ।
त्यस पश्चात यसले खेति गरेको क्षेत्रमा विभिन्न कोणबाट आनुवांशिक उलट पुलट
गरिएका वालिहरुको उत्पादन लिने कुरा त सामान्य नै रह्यो तर यो यसमा मात्र
सिमित रहनेवाला पटक्कै छैन । यसको आनुवांशिक उलट पुलट गरिएका
वालिहरुको(Genetically Modified Plants) पराग उडेर केहि पर सम्मका किसानको
खेत वारिमा पुगेर तिनिहरुको उत्पादनलाई समेत दुषित पारेको हुन्छ । यसरी
दुषित पारिएको खेतिलाई हर्जाना तिर्नुपर्ने होला सामान्य रुपमा सोच्ने भने
तर यहाँ मोन्सान्टोले आफ्नो भयानक असलि रुप देखाउँछ । यि गरिव किसानहरुलाई
उल्टै यसले आफ्नो बिऊ चोरेर प्रयोग गरेको अभियोगमा लाखौं रुपयाँ तिर्न
लगाउँछ । गरिब किसान मोन्सान्टोको अघि निरिह हुन्छ । यसरी यसले आफ्नो
बहुराष्ट्रिय कम्पनिको चरित्र देखाउँछ र लुट्न सफल उक्त अकुत सम्पत्ति
राजनितिज्ञ तथा नेताहरुलाई आफ्नो अगाडि पछाडि रिंगाउन प्रयोग गर्ने गर्दछ ।
Photo: http://goo.gl/QcAxo |
नेपालमा मोन्सान्टोको गतिविधि
पराम्परागत रुपमा गरिने खेति किसानिको ध्वंश गर्दै बंशाणु परिवर्तित
विउबाट उत्पादित खेति प्रणालिको विकास र व्यापारमा कुख्याति कमाएको
मोन्सान्टो नामक बहुराष्ट्रिय बिऊ कम्पनिको नेपाल प्रवेश विवादित बन्दै
गइरहेको थियो । नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय र युएस एडले गोप्य
रुपमा वैज्ञानिक परिक्षणको नाममा हजारौं हेक्टर जग्गामा वर्णाशंकर मकैको
उत्पादन परिक्षण गर्ने सम्झौता भयो भनिएको कुरा जब अकस्मात सार्वजनिक भयो
तब शंका उपशंका चरम उत्कर्षमा पुग्यो । मोन्सान्टोको मकै परिक्षण नेपाली
किसानको खेतवारीमा गरिने खबरको सर्वत्र चासोका साथ विरोध गरियो र सरकारी
प्रतिनिधिहरु पनि खुट्टा कमाउन थाले । चितवन, नवलपरासी र काभ्रेका २० हजार
किसानलाई मोन्सान्टोको विऊ वितरण गरि मकैको परिक्षण गरिने जनाइएता पनि
मोन्सान्टोको विश्वव्यापि रुपमा स्थापित नकरात्मक छवि र कुकृत्य विभिन्न
संचार माध्ययमबाट बाहिर आए पछि मोन्सान्टोसँगको सम्झौताको मन्त्रालय तथा यु
एस एडबाट नै खण्डन सुरु भएको छ र मोन्सान्टो नेपाल छिर्ने दोस्रो उपायमा
अग्रसर रहेको छ । यसले हाल विभिन्न उपायको खोजि गर्दै गर्दा विश्वविद्यालय र
नार्क जस्ता क्षेत्रका वैज्ञानिक र अनुसन्धानकर्तालाई विभिन्न लालशा
देखाएर नेपालमा मोन्सान्टोको अजैविक विऊले जैविक प्रदुषण गर्ने, खाद्य
सहयोगको नाममा जुम्ला जाजरकोट जस्ता भोकमरी ग्रस्त क्षेत्रमा मोन्सान्टोको
अनाज र उस्तै परे विउ पनि वितरण गर्ने सोचमा अघि बढेको देखिन्छ र लुकेर यस
किसिमका कदमहरु चालि रहेको छ ।
अन्तमा
यसपालि विश्वभरिका समाजिक आन्दोलनका अभियन्ताहरुको सल्लाह र सहयोगबाट
नेपालीका सचेत किसान, समाजिक अगुवा, पर्यावरणकर्मिहरु खुल्लम खुल्ला नेपाल
छिर्न खोजेको मोन्सान्टो जस्तो विश्व घृणित बहुराष्ट्रिय कम्पनिलाई वैधानिक
तवरबाट नेपाल आउनबाट रोक्न सफल भएका छन् । तर, पैसाकै दम बाट विश्वलाई
हाक्न खोज्ने मोन्सान्टो जस्तो अजंगको सस्था शैक्षिक अनुसन्धान, खाद्यान्न
सहयोग लगायतको विभिन्न बहानामा नेपाल छिर्न खोजिरहेको छ । यस्ता गतिविधिलाई
निरुत्साहित गर्न र हाम्रो कृषि क्षेत्रलाई दरिलो बनाउँदै लैजान सरकारी
क्षेत्रबाट आवश्यक नियमन गर्नुपर्ने हुन्छ । सरकारले नै हाम्रो परम्परागत
खेति प्रविधिको विकासमा जोड दिएर स्थानिय स्रोत र साधनको उपयोगलाई
प्राथमिकता दिनु पर्छ अनि मात्र दिगो रुपमा खेतिबाट नाफा लिन सकिन्छ र
यस्ता बहुराष्ट्रिय कम्पनिबाट हुन सक्ने धक्काको मुकाविला गर्न कृषक आफैं
नै सक्षम हुनेछन् । यसरी मोन्सान्टो जस्ता कम्पनिको विरुद्ध उभिएको नेपाल
दह्रो रुपमा सधा सर्वदा उभिन सक्षम रहने नेपालका राष्ट्र प्रेमि सम्पुर्ण
कृषिकर्मिहरुको विश्वास रहेको छ ।
लेखक
अनन्त प्रकाश सुबेदी (कृषि स्नातकोत्तर-बाताबरण संरक्षण)
उप-प्राध्यापक- वातावरण विज्ञान बिभाग
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान
त्रिभुबन विश्वविद्यालय
No comments:
Post a Comment